सम्पदा भनेको सिर्जनशील प्रतिभा भएका हाम्रा पुर्खाहरूले बनाएर गएका मठ, मन्दिर देवल, गुम्बा, विहार, सत्तल, मूर्ति, ढुङ्गेधारा, पोखरी, कलाकृति, नाचगान, चाडबाड बाजाहरू नै हुन्। यी सम्पदाहरूलाई हामीले संरक्षण गर्नुपर्छ । संरक्षण गर्न जानिएन भने हाम्रो अमूल्य सम्पदाहरू एक-एक गरेर नष्ट भएर हराएर जान सक्छन् ।
उक्त परिप्रेक्ष्यमा हाम्रा ती अमूल्य सम्पदाहरूको बारेमा जति सक्यो उति धेरै ज्ञान हामीले थाहा पाइ राख्नुपर्छ । यसबाट हाम्रो देश समृद्ध हुन्छ र हाम्रो जीवन सुखमय बन्छ । हाम्रो देशको शिर सदैव उच्च भइरहन्छ ।
अतः हाम्रा सम्पदाहरूको परिचय र विशेषता थाहा पाउनका लागि हाम्रा भाइबहिनीहरूले यस्ता उपयोगी पुस्तकहरू पढ्ने बानी गर्नुपर्छ ।
सुशीला देउजा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका पाँचवटा बालसाहित्य कृतिहरू प्रकाशित छन् । उहाँको बाघ र बाबा कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ । चारूमतीको रहस्य (बालचित्रकथा) उहाँको २०७७ मा प्रकाशित कृति हो ।
यात्रा साहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारू (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।