तेस्रो आयामको पहिलो अङ्कको सम्पादकीय प्रधान सम्पादक तिलविक्रम नेम्वाङ (बैरागी काइँला) को तर्फबाट लेख्नुभएको छ, इन्द्रबहादुर राईले। बिरामी बैरागी काइँलालाई सहयोग गरिएको थियो त्यो । लेखिएको सम्पादकीय यस्तो छ :
'काम अप्ठ्यारो भेटेको छु, रोगबाट निको हुँदै उठ्न लागेको हाम्रो सम्पादक (श्री तिलविक्रम नेम्वाङ) लाई कष्ट नदिने भई उसको सम्पादकीय लेख्ने । लेख्दैछु;
अबको साहित्यलेखनले मानिसको सम्पूर्णतालाई उचाल्न ताक्नुपर्छ । मानिस आँखामात्र, कानमात्र, मनमात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो र अब लेखिने प्रत्येक वाक्य र पङ्क्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ । दुःख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दुःख पाएको कथा वा कवितामात्र सीमित नरहोस् । त्यसले उठ्नु सकेर त्यो टुक्रा कुराको पछि एउटा विशाल विचार बसेको होस्, उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्रा राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो। त्यो मात्र भन्दा धेरै-धेरै अरू कुरा होस् । यै धेरैहरू हो, तेस्रो आयाम ।
विज्ञानको सापेक्षवाद र अझ नवीनतर आविष्कार, त्यसको दार्शनिक अर्थ्याइ, चित्रकला र सङ्गीतमा त्यसको प्रतिरूप, श्रृङ्खला, मनोविज्ञान, अवचेतना, प्रतीक सब हाम्रा तृतीय आयाम झिक्नलाई हतियार छन् । हामी नबुझिने बनौला । तर लोकप्रियताको लोभ गरिरहे केही लेख्न सकिन्न । हामीले ऐले सफलता देखाउन नसकेका हौंला, पछि जरूर सक्नेछौं । पछि आउनेहरूले त्यो गर्नेछन् र गरिछाड्ने छन् । कारण मानिसको शरीर छाडी अरू केही पनि मर्दैन, विचार मर्दैन ।'