लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास पानीघट्ट गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरुङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैंमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्मुलनको साक्षी हो ।
तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई पानी र घट्ट'को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।