आधुनिक नेपाली कविता-काव्य परम्परामा महाकवि लक्ष्मीप्रसाद देवकोटा सर्वाधिक चर्चित एवम् प्रशंसित प्रतिभा हुन् । उनका कविता-काव्यहरूको सिर्जना शृङ्खलामा जोडिएका ६ ओटा महाकाव्यहरू उनको काव्यव्यक्तित्वका महत्त्वपूर्ण अङ्ग हुन् । तर उनको नाममा जोडिएको 'महाकवि' विशेषणलाई उनका महाकाव्य रचनाका सम्बन्धसँग मात्र नजोडेर उनको समष्टिगत विराट् काव्यव्यक्तित्वसँग सम्पृक्त तुल्याएर हेर्ने गरिन्छ। यद्यपि उनका ६ ओटा महाकाव्यहरू उनको व्यक्तित्वका सर्वाधिक महत्त्वपूर्ण अङ्ग भएको वास्तविकतालाई पन्छाउन मिल्दैन । यसलाई मनन गरेर नै उनका सबै महाकाव्यहरूको सङ्ग्रह प्रकाशित भएको छ। यसले देवकोटाको महाकाव्यकारिताको अध्ययनमा सहज हुने स्वाभाविक देखिन्छ ।
देवकोटाका महाकाव्यहरू मूलतः 'वनकुसुम', 'महाराणा प्रताप', 'प्रमिथस', 'शाकुन्तल', 'सुलोचना' र 'पृथ्वीराज चौहान' हुन्। सर्गविभाजनका दृष्टिले सबैभन्दा ठूलो 'शाकुन्तल' महाकाव्य हो। यसमा २४ सर्ग छन्। अन्य महाकाव्यहरू 'पृथ्वीराज चौहान' २१, 'महाराणा प्रताप' १६, 'सुलोचना' १५, 'प्रमिथस' ११ र 'वनकुसुम' १६ सर्गका छन् । यसरी हेर्दा उनी आफ्ना महाकाव्यहरूको सर्गविभाजनमा सहज र स्वतन्त्र देखापर्छन् । महाकाव्यको कथावस्तु र भावधाराले उनको सर्गविभाजन परिमित हुँदैन। उनी सामान्य कथा शृङ्खलामा पनि विस्तृत आयाम दिन्छन् तापनि भावधाराको अनन्तताले उनको कथानक विच्छिन्न हुनै दिँदैन । महाकविको निरवच्छिन्न अनन्त भावधारा नै पद्यगत रचनाविच्छेदको कारक बन्न पुगेको पाइन्छ।
उनका महाकाव्यहरूमा 'प्रमिथस' बाहेक सबै पद्यगत रचना हुन् । 'शार्दूल विक्रीडित' शास्त्रीय छन्दमा रचिएको 'शाकुन्तल' देखि लोकछन्दमा निर्मित 'पृथ्वीराज चौहान' सम्मका महाकाव्यहरूमा उनको स्वतन्त्र धाराप्रवाह र गति अविरल रूपमा प्रवाहित रहेको पाइन्छ। कुनै पनि महाकाव्यमा कविलाई छन्दले नचाउँदैन बरु आफ्ना भावनामा कविले छन्दलाई नचाएका छन्।