वि.स. २०३३ साल पुस ३ गते पिता चन्द्रनाथ र माता दुर्गादवीका सुपुत्रका रूपमा हरिऔन, सर्लाहीमा जन्मिनुभएका कृष्णप्रसाद घिमिरे नेपाली बालसाहित्यका क्षेत्रमा कार्तिकेय नामले चिनिनुहुन्छ। उहाँ विगत दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा समर्पित हुनुहुन्छ । बालमन्दिरबाट प्रकाशित हुने बालक पत्रिकाको कान्छो सम्पादक भई वि.सं. २०५५ देखि २०६२ सम्म ७ वर्ष काम गरिसक्नुभएका कार्तिकेयले लेखन, सम्पादन र अनुवाद गर्नुभएका १०० भन्दा बढी बालसाहित्य कृतिहरू प्रकाशित छन् ।
उहाँले उत्कृष्ट बालसाहित्य लेखन र बालपत्रकारिताको क्षेत्रमा विशेष योगदानका लागि पिस मिडिया बालपत्रकारिता पुरस्कार, बालहितकारी पुरस्कार, शिशुसेवा बालसाहित्य पुरस्कार, नेबासास उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, नूरगंगा बालसाहित्य पुरस्कार, जनमत बालसाहित्य पुरस्कारलगायत विशिष्ट पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय 'कार्तिकेय ट्रस्ट' का संस्थापक हुनुहुन्छ । उक्त ट्रस्टले बालबालिकाको पठन संस्कृतिको विकासका लागि विगत डेढ दशकदेखि महत्त्वपूर्ण कार्य गर्दै आएको छ । ट्रस्टबाट सयभन्दा बढी बालबालिकाहरू पुरस्कृत भइसक्नुभएको छ ।
कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष ब्राइट फ्युचर हाईस्कुल, नैकाप, काठमाडौंका संस्थापक निर्देशक वरिष्ठ शिक्षासेवी मोहन कार्की हुनुहुन्छ । यस ट्रस्टले पठन संस्कृतिको विकासका लागि लामो समयदेखि काम गर्दैआएको छ ।