आधुनिक नेपाली कथाको इतिहासको थालनीसँगसँगै नेपाली भाषामा लामो कथा लेखनको पनि शुरुवात हुन्छ । तर विश्वका अन्य विकसित भाषाहरूले 'लामा कथालाई गौरवपूर्ण छुट्टै चिनारी प्रदान गरी यसको महत्त्वलाई स्थापित गरेको पाइन्छ भने हामीकहाँ अनेकौँ उत्कृष्ट लामा कथा लेखिइसक्दा पनि यसका विशेषताहरूबारे गहिरो सचेततासाथ अझै पनि खासै चर्चा-परिचर्चा र बहस- विमर्श हुने गरेको छैन । यस स्थितिमा उत्कृष्ट नेपाली लामा कथाको प्रस्तुत सङ्ग्रह - लामो कथाको गरिमा, गौरव र महत्त्वलाई स्थापित गराउने एउटा गम्भीर पहल अनि प्रस्थानविन्दु हो
। यस उत्कृष्ट नेपाली लामा कथा कृतिभित्र पुराना वरिष्ठ, सुप्रसिद्ध र नयाँ चर्चित गरी १७ जना नेपाली कथाकारका भिन्न-भिन्न शैली-शिल्प, संस्कार, स्वाद, विशेषता अनि विविधतापूर्ण बान्कीको प्रतिनिधित्व गर्ने बहुप्रशंसित कथाहरूलाई पहिलोपटक एकत्रित गरी आदरणीय पाठकहरूसमक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ । यस कृतिभित्र चयनित उत्कृष्ट सिर्जनाहरूले आदरणीय पाठकहरूको सद्भाव र अपनत्व हासिल गर्नेछन् भन्नेमा हामी उत्साहित साथै विश्वस्त छौं ।