नेपाल अहिले कठिन र सङ्कटपूर्ण दोबाटोमा उभिएको छ । विगतका विभिन्न राजनीतिक प्रयोगबाट थकित तथा आयातित विचारहरूको निरन्तर प्रभाव र वर्चस्वबाट नेपाली जनता निराश, आजित र चिन्तित भएका छन् । अब कता जाने, कुन बाटो, कसरी हिँड्ने भन्ने अन्योल र अलमलमा छन् यति बेला नेपाली जनता । शताब्दीभन्दा लामो आर्थिक, सामाजिक, राजनीतिक शोषण र दमनको अन्धकार युग तथा करिब सात दशकको प्रजातान्त्रिक अभ्यासपछि पनि अहिले राष्ट्र गहिरो वैचारिक द्विविधा र द्वन्द्वको अवस्थामा फस्नु आफैंमा विडम्बनापूर्ण छ....
यो पुस्तक बुद्धिजीवी वर्ग, नीति निर्माता, आमनागरिक र विशेष गरी नयाँ पिँढीका युवाहरूलाई हार्दिक निमन्त्रणा हो नयाँ राष्ट्रिय पुनर्जागरणको गम्भीर बहसमा सामेल हुनका लागि । आयातित विचारको नक्कलका आधारमा होइन, नेपालीपनको धरातलमा विकसित, सनातन मूल्यमान्यतामा गहिरो जरा गाडेको र व्यावहारिक रूपमा औचित्यपूर्ण मौलिक दृष्टिकोण अँगाल्ने समय आएको छ । संवर्धनवाद त्यही परिवर्तनकारी दृष्टिकोण हो....
- न्युरोडमा रहेको 'अमेरिकन लाइब्रेरी ले विद्वान्हरू बोलाएर विभिन्न समसामयिक विषयमा प्रवचन कार्यक्रम आयोजना गर्थ्यो । यस्तै एक प्रवचन कार्यक्रममा एक जना अमेरिकी प्राध्यापकले प्रजातन्त्रको विश्वव्यापी अभ्याससम्बन्धी व्याख्यानमा प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन' भनी राखेको अभिव्यक्ति मेरो मनमस्तिष्कमा अहिले पनि जरा गाडेर बसेको छ...
यसै पुस्तकबाट