प्रस्तुत पुस्तक रत्न नीतिकथा सँगालोको पाँचौं भाग हो। यसको पहिलो, दोस्रो, तेस्रो र चौथो भागलाई भाइबहिनीहरूले बढी नै रुचाएको पाइयो । फलतः भाइबहिनीहरूका यिनै अभिरुचिले गर्दा पाँचौं भाग प्रकाशनतिर लागिएको हो ।
बालबालिका भनेका मुलुकका भविष्य हुन् । जति बढी उनीहरूको नैतिक धरातल बलियो पार्न सकियो भोलिको समाज त्यति नै समुन्नत हुने हो। यिनै मान्यताका साथ पुर्खाले उनीहरूलाई नैतिक शिक्षा दिने गरेका थिए। यसैका कारण तत्कालीन समाज अपेक्षाकृत बढी नै अनुशासित हुने गरेको थियो । त्यसैले बालबालिकाको नैतिक धरातललाई थप बलियो पार्दै जाने उद्देश्यले नीतिकथा लेखनमा लागेको हुँ।
हाम्रो नीतिकथाका स्रोत भनेका वेद, पुराण, रामायण र महाभारतादि ग्रन्थहरू नै हुन् । रामायण र महाभारतलाई त भण्डार नै मान्दा पनि फरक पर्दैन । मैले पनि आफ्ना सन्दर्भ स्रोतहरूमा प्रायः तिनै ग्रन्थलाई लिएको छु । यसबाहेक केही विदेशी कथा पनि सन्दर्भ स्रोतमा रहेका छन् भने केही छुट्टै स्वतन्त्र कथाहरू पनि परेका छन् । स्रोत ग्रन्थहरू पनि केवल स्रोत ग्रन्थकै रूपमा सीमित रहेका छन् । लेखनको काम आफ्नै मौलिक चिन्तन र शैलीअनुसार भएका छन् । यसबाट पुस्तक पठनपाठनमा थप सरल र सरस हुनेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा अघिल्ला भागहरूलाई जस्तै भाइबहिनीहरूले यसलाई पनि रुबाइदिनेछन् भन्ने आशा गर्दै कलम बन्द गर्न चाहन्छु ।
कमल रिजाल