जातीय संरचनाको सबैभन्दा पिँधमा रहेको अनि हरदिन आफ्नै जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको मगनी मरिक । के ऊ आफ्ना निम्ति न्याय खोज्न सक्ने पात्र हो ? न्यायका निम्ति लड्न सक्ने पात्र हो ?
बित्थामा आइपरेको न्याय खोज्नैपर्ने बाध्यतामा ऊ कसरी फस्दै जान्छ भन्ने कथाको वरपर यो पुस्तक घुमेको छ । अनि यही कथामा नेपाली समाजको क्रूर यथार्थका पत्र खुल्दै जान्छन् । जातीय उत्पीडन, संवेदनाहीन प्रशासनतन्त्र, आमनागरिक तथा सत्ताबीचको असमान सङ्घर्षका कथा अनि आफ्नै सपना र रहरबिना बाँच्न अभिशप्त पात्रको मनोदशा मगनी मरिक पढ्दै जाँदा महसुस हुँदै जान्छ ।
कुनै हिसाबले पनि भोग्नु नपर्ने हैरानीको चक्करधिन्नीमा फसेको मगनीको कथाले विद्यमान वैदेशिक रोजगारी, मानव तस्करी र निरीह सरकारी संयन्त्रको वृत्तान्त कहन्छ ।