सोच मात्रै भएर समस्या सुल्झिँदैन, सोच जिन्दगीको आधार बन्न सक्ला तर आधारलाई परिपूर्ति गर्न खोज नै चाहिन्छ। चार दिनभित्र ३८० पृष्ठको पुस्तक पढिसक्नुको मुख्य कारण लेखकको विचार प्रस्तुत गर्ने साह्रै नै आकर्षक र धाराप्रवाह शैली नै हो। पहिलो पृष्ठदेखि अन्तिम पृष्ठमा नपुगुञ्जेल पुस्तकले मलाई अँठ्याएर राखेको थियो। खोज जति चित्ताकर्षक पुस्तक मैले पहिले कुन पढेँ भन्ने प्रश्नको मनमनै जवाफ खोजेँ तर पाइनँ। यसमा समाजशास्त्रीय विषय समावेश रहेको मैले अवश्य देखें। तिनको प्रस्तुति आकर्षक एवम् गाउँका किसानसम्मले बुझ्ने भाषामा भएको हुँदा नै मेरा निम्ति आकर्षक भयो। - मदनमणि दीक्षित कर्ण शाक्यको मनका भावनाहरू निर्जीव पुस्तकका पानाका माध्यमद्वारा हाम्रा सामु बडो कर्णप्रिय ढङ्गले बोलिरहेका छन्। कोसौं टाढा रहनुभएका लेखक र संसारभर छरिएर रहेका पाठकहरूलाई एकै डोरीमा बाँध्ने लेखकको अभिलाषालाई खोजले हौसला प्रदान गर्नेमा द्विविधा छैन। सरल भाषाशैली र घटनाक्रमलाई जस्ताको तस्तै टपक्कै टिपेर पुस्तकका पानामा कोर्न सफल लेखकलाई म कमसल वा औसत लेखक मान्ने पक्षमा छैन। समालोचकहरूका दृष्टिमा पुस्तक कस्तो छ, त्यतापट्टि नजाऊँ, पुस्तकले बोकेको भाव र मर्म बुझ्ने हो भने सोच जति बहुउपयोगी सिद्ध भयो, खोज त्यसभन्दा बढी उपयोगी हुन सक्छ। - काँचो कर्कलो, माइसंसार डटकम