झिल्को दुई ढुङ्गाको घर्षणबाट जन्मिन्छ। जीवनले पनि सुखदुःख, आशा-निराशा, प्रेम र त्याग जस्ता द्वन्द्वको साक्षात्कारबाट आकार लिन्छ। प्रारम्भमा पीडादायी लागे पनि यिनै क्षण ज्ञान र आत्मबोधका बीउ हुन् । अनुभवबाट बोध जन्मिन्छ, बोधबाट चेतना जाग्छ र त्यसले अन्ततः आत्मबोधतर्फ डोऱ्याउँछ।
झिल्को चेतनाको क्षणिक प्रकाश हो, जो अँध्यारोबाटै जन्मिन्छ। यसले पूर्ण उज्यालोको दाबी गर्दैन । तर यात्नामा दिशाबोध गराउँछ र सोचलाई जागृत गर्छ। यही कारणले यस पुस्तकको नाम झिल्का राखिएको हो। यसमा समेटिएका झिल्का लेखक कर्ण शाक्यका भोगाइ, सोच र कर्मबाट जन्मिएका साना तर गहिरा अनुभूति हुन्, जसले उनको दृष्टिकोणलाई प्रतिबिम्बित गरेका छन्।