हर्क गुरुङको नामसित एकभन्दा बढी विशेषण जोडिएका थिए । भूगोलविद्, योजनाकार, समाजशास्त्री, राजनीतिज्ञ, चिन्तक, प्रशासक, लेखक, पदयात्री, पर्वत विशेषज्ञ, चित्रकार, फोटोग्राफर, खेलाडी, मन्त्री आदि अनेक चिनारी थियो हर्क गुरुङको । झन्डै पाँच दशक लामो सार्वजनिक जीवनमा उहाँका निर्झर लेखनीबाट अङ्ग्रेजी र नेपाली दुवै भाषामा धेरै पुस्तकहरू जन्मिए। हर्क गुरुङका रमाइला यात्रा-कथा, मार्मिक संस्मरण, घतलाग्दा विचार, तीक्ष्ण विश्लेषण तथा ठोस अवधारणाहरू सङ्कलित विषय विविध लाई सही अर्थमा उहाँका प्रतिनिधि लेख-रचनाहरूको सँगालो भन्न सकिन्छ ।