
संसारमा सत्यभन्दा छिटो फैलिने कुरा यदि केही छ भने त्यो हो, अफवाह । सामाजिक सञ्जालले अपराधी घोषणा गरिसकेको एक युवकले अन्ततः आफ्नो मौनता तोड्छ र आफ्नो जीवनका गुप्त अध्यायहरू खोल्न थाल्छ-
रम्मापुर गाउँबाट सुरु भएको रहरलाग्दो सपनादेखि बेलायतको उडान, आप्रवासी जीवन, कोठे कलेजहरूको जालझेल, अवैध सीमापार, लरीमा गरिएको नरकयात्रा, जेलका अँध्यारा कोठाहरू, मृत्युको किनार र फेरि बाँच्न सिकाएको अदृश्य शक्तिसम्म ।
विदेशका चम्किला सहरहरूको पोस्टकार्डभित्र लुकेको कारुणिक यथार्थ र सामाजिक सञ्जालको भ्रामक दुनियालाई उदाङ्गो पार्ने एक अद्भुत र जीवन्त उपन्यास हो, 'आना' । कमल पराजुलीले पत्रकारीय तीक्ष्ण दृष्टि र कथाकारीय संवेदनशील भाषालाई कुशलतापूर्वक आख्यानको कलेवरमा प्रस्तुत गरेका छन् ।
उपन्यासको अन्त्यमा एउटा असाधारण र विष्फोटक मोड आउँछ । त्यसले खुलाउने छ, स्पेनिस हाउभाउ तर दायाँ कानमुनि 'ओम'को टाटु खोपेकी रहस्यमयी युवतीको जन्मकुण्डली । यस उपन्यासको शक्ति घटनाको चमत्कारमा छैन; ती घटनाहरूबाट जन्मिने मानवीय कम्पन र प्रतिकम्पनमा छ।
