तपाईं त मलाई सर्वज्ञजस्तो मानेर सोध्नुहुन्छ । मेरा ज्ञानक्षेत्र, सूचनाक्षेत्र र अध्ययन पनि सीमित छन्, त्यो त बुझिदिनुपर्छ नि । मेरा जीवन-अभ्यास, तपाईंहरूजस्ता जिज्ञासु एवं ज्ञानीजनहरूसँगको सङ्गत र छलफल नै मेरा धारणाका आधार हुन् । मेरा जवाफ नै सार्वभौम नहुन सक्छन्; बरू प्रतिप्रश्न पनि चाहियो ।
हात मिलाउँदैमा हृदय मिल्छ भन्ने हुँदैन । त्यसैले साथी बनाउन र बनिसकेका साथीसँग मित्रता तोड्न हतारिनु हुँदैन । समाज बुझ्न मान्छे पढ्नुपर्छ । केही मान्छे सम्बन्धहरू कपडा फेरेजस्तै फेर्छन् । स्वार्थले आफन्त निर्धारण गर्ने यो समयमा सफलताको सूत्र हृदयले होइन, मस्तिष्कले तय गर्छ । बेबकुफ बनुन्जेल नाताहरू टिकिरहन्छन्, तर सामान्य विषयमा भिन्न मत राख्नासाथ नाता तोडिन्छन् । राम्रो हुनुको पनि मूल्य चुकाउनुपर्दो रहेछ । स्वत्वले अहङ्कारको रूप लिएपछि सम्बन्धमा जटिलता सुरु हुन्छ ।