टोनी हागन सन् १९५० मा स्वीस सरकारले ६ महिनाका लागि नेपाल पठाएको प्राविधिक सहयोग टोलीको सदस्यका रूपमा पहिलोपटक नेपाल आएका थिए । त्यस प्राविधिक सहयोग टोलीको मुख्य काम नेपालमा पश्चिमा शैलीको विकास पद्धति थाल्न र प्राकृतिक खनिज भण्डार पत्ता लगाउन नेपाल सरकारलाई मद्दत गर्नु थियो । सरकारको अनुमतिबेगर विदेशीहरूले नेपाल आउन र काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएका नाताले टोनी हागनले नेपालको ग्रामीण इलाका चहार्न पाए। त्यस घुमाइको अनुभवबाट हागनलाई त्यति बेलासम्म 'अज्ञात भूमि' भनेर चिनिएको नेपालबारे अझै जान्ने बुझ्ने कौतूहल जाग्यो । उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट सम्बन्धको सुरूआत त्यहीँबाट भएको थियो ।