आजको करिब दुई हजार वर्षअधि मार्कस औरेलिउस एन्टोनिनस (Marcus aurelius antoninus) रोमको एकमात्र स्टोयिक (Stoics) दर्शनशास्त्री सम्राट हुनुहुन्थ्यो । उहाँले ई.सं. १६१ देखि १८० सम्म शासन चलाउनुभयो । बाल्यावस्थामै मातापिताज्यूको देहान्त भएकाले उहाँका फुपाजू सम्राट एन्टोनिनशस पायस (Antoninus Plus) (ई.सं. १३८ देखि १६१ सम्म) ले धर्मपुत्र लिनुभयो । त्यस उप्रान्त उहाँको पालनपोषण, शिक्षादीक्षा तालिम, संस्कार सम्राटबाट प्राप्त हुन थाल्यो । एघार वर्षको उमेरमा स्टोयिक दर्शनशास्त्रको चाख बढ्यो । मार्कसले दर्शनशास्त्र अध्ययन गर्न थाल्नुभयो। अति भद्र पुरुष हुनुहुन्थ्यो । सम्राट एन्टोनिनस पायसको साथ मिलिजुली सहकारिता भएर २३ बर्षसम्म काम गर्नुभयो ।
ई.सं. १४६ तिर मार्कसको विवाह सम्राट एन्टोनिनस पायस (Antoninus Pius) की छोरी फस्टिना (Faustina) (फुपुको छोरी) सँग सुसम्पन्न भयो। मार्कस एक कर्तव्य परायण पुरुष हुनुहुन्थ्यो। सम्राट पायसले अति माया गर्नुहुन्थ्यो। पायसको मृत्यु ई.सं. १६१ मा भयो। सिनेटबाट मार्कसलाई साम्राज्यको एकमात्र शासक भएर काम चलाउने आग्रह भयो तर पायसको अर्को धर्मपुत्र एलभिरुस (L. Virus) सँग सहभागी भएर शासन चलाउने निर्णय गर्नुभयो। अब रोमको इतिहासमा पहिलो पटक दुई सम्राटले शासन चलाउन थाले ।
मार्कसले शासन चलाउन थालेपछि ३ वर्षको अवधिभित्रै भयभित राष्ट्रिय प्रकोपहरु बाढी, भूकम्प, हैजा, इत्यादिले सताउन थाल्यो । थम ब्रिटेनबाट विद्रोहको धम्की, पार्थियान (Parthian) युद्ध र आल्पस (Alps) को उत्तरतर्फबाट असभ्यहरुको दवाब इत्यादि आउन थाल्यो। ई.सं. १६९ मा जर्मन क्वाडि (German Quadi) मा सफलता प्राप्त भयो । ई.सं. १६९ मा एसियाको मामला बल्ल सुल्झियो तर छिट्टै नै फेरि जर्मनहरुसँग लडाई नवीकृत भयो । त्यही लडाइँमा मार्कसलाई सरुवा रोग लाग्यो र उहाँको ई. सं. १८० मार्चमा डान्युव (Danube) मा देहान्त भयो ।
विश्वप्रख्यात किताब "चिन्तनहरु" (Meditations) मा सम्राट मार्कसले सैनिक अभियानहरुमा प्रमुख महारची भएर भाग लिंदा एकान्त समयमा मनमा उब्जेका "चिन्तनहरु" उहाँकै शब्दमा पाइन्छ । निजी मार्गदर्शनहरु र चिन्तनहरु आफूलाई प्रशोधित गराउन प्रस्तुत गरिएको छ । यो किताब स्टोयिक विश्वासको बलियो अभिव्यक्ति हो। यसले नैतिक जीवनको अनौठो मार्गदर्शन पनि प्रदान गर्दछ। यसले सम्राट मार्कसका शब्दहरुलाई बिउझाउँदछ र आज दुई हजार वर्षपछि पनि उहाँको ज्ञान त्यतिनै प्रासङ्गिक छ।