मदन पुरस्कारबाट २०१६ सालमै गद्य साहित्यतर्फ पुरस्कृत भएर आफ्नै इतिहास बनाएको कृति हो, नित्यराज पाण्डेको महाकवि देवकोटा ।
यसले महाकविको जीवनीमा मात्र सीमित नरही उहाँका कृतिउपरसमेत विश्लेषणात्मक नजर राखेको छ। लेखक धोबीधाराकै बासिन्दा हुनुभएको र देवकोटा परिवारसँग राम्रो चिनजान र हेलमेल भएकै कारण महाकवि देवकोटाबारे धेरै महत्त्वपूर्ण, तथ्यपरक तथा रोचक विषय अनुसन्धान र सत्यतथ्यमा आधारित भएर उतार्नुभएको छ। यही विवेकी र विश्लेषणात्मक प्रयासले गर्दा यो कृति आधिकारिकसमेत भएको छ।
मैले यो पुस्तक सर्वप्रथम २०२० सालतिर पढेको हुँ। मेरा पिताजीबारे गरिएका चर्चा मलाई अत्यन्तै घत लागेको हुनाले धेरै जनालाई यसको आधिकारिकताउपर विश्वस्त रहन आग्रह गर्दै आएको छु। ‘महाकवि देवकोटा’ बारे प्रारम्भिक अनुसन्धानमा जसरी यस पुस्तकले ठूलो सहायता गर्यो, त्यसरी नै यसले प्राज्ञिक अनुसन्धानमा सहयोग गरिरहनेछ भन्ने मेरो विश्वास छ।