सिक्किमेलीले सन् १९७२/७३ तिर गरेको आन्दोलन केबल सिक्किमलाई भारतमा विलय गराउने भारतीय दीर्घकालीन रणनीतिक कार्ययोजनाको अंशमात्र थियो । आन्दोलन गर्नेहरू बाहिर देख्दा सिक्किमेली भए पनि उनीहरूको मन, वचन र कर्म भारतको स्वार्थमा परिचालित राष्ट्रघाती थियो । भारतले डेढ दशकदेखि रणनीतिक योजना बुनेर सिक्किम विलय गराएको हो । सिक्किम राज्य कांग्रेस नामक दल भारतले गठन गराएर आफ्ना मान्छेहरू परिचालित गरायो । सामाजिक तथा धार्मिक संघसंस्था र राजनीतिक दलका कार्यकर्ता एवं नेतृत्वहरू आफूअनुकूल प्रशिक्षित गरायो, उनीहरूमा लगानी गर्यो । र, सन् १९७५ मा सिक्किम खप्लक्क खायो। नेपाल-भारत समस्याहरू समाधानमा भारत हिजो पनि संवेदनशील थिएन र आज पनि छैन । नेपाल-भारत प्रबुद्ध समूह निर्माणमा भारतको कथित सहमति केबल लोकाचार र झाराटारमात्र हो । यो भारतको व्यवहारले देखाएको छ ।